महामारी भित्रै अवसर खोज्न विज्ञको सुझाव

Source: https://www.karobardaily.com/news/corporate/35004
बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन)तेश्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले शुक्रबार भर्चुअल बैठकमार्फत आफ्नो स्थापनाको दोस्रो वर्ष सफलताका साथ सम्पन्न गरेको जनाएको हो । सो अवसरमा ‘जर्नल अफ बैंकिङ फाईनान्स एण्ड इन्सुरेन्स’ नामक पुस्तक विमोचन गरिएको छ ।
कोभिड १९ को महामारीबीच सम्पन्न बैठकले ‘कोभिड १९ एण्ड नर्मल : हाउ वि क्यान म्यानेज आवर विजनेस’ नामक सेमिनारको समेत आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले जानकारी दिए । उनका अनुसार बिफिनले हालसम्म ६५ भन्दा बढी तालिम कार्यक्रमहरु, ५ अन्तर्राष्ट्रिय सम्मेलन, ४५ प्रकारका कोर्षहरु सञ्चालन गरी १८० संस्थाका २५०० भन्दा बढी कर्मचारीलाई तालिम प्रदान गरिसकेको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको समयमा उक्त महामारीले पारेको प्रभावले उत्पन्न परिस्थितिका विभिन्न विषयलाई समेट्दै १० भन्दा बढी बेबिनार सम्पन्न गर्न सफल रहेको समेत उनले जानकारी दिए । उनका अनुसार कम्पनीले छोटो समयमै एशिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर एशोसियसन (एप्रका), बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेण्ट (बि.आई.बि.एम.), कोलम्बो प्लान स्टाफ कलेज (सी.पी.एस.सी), सँग रणनीतिक साझेदारी गरेको छ । यस्तै बिरला इन्टिच्यूट अफ म्यानेजमेण्ट टेक्नोलोजी (बिमटेक), केयर रेटिङ्गस् इण्डिया, इन्टिच्यूट अफ इन्क्लुसिभ फाइनान्स एण्ड डेभलपमेण्ट (आई.एन.एम), जवाहरलाल नेहरु इन्टिच्यूट अफ बैकिङ्ग एण्ड फाइनान्स (जे.एन्.आई.बि.एफ), भिक्टोरिया विश्वविद्यालयसँग रणनीतिक साझेदारी गर्न सफल भएको आत्रेयले बताए । कार्यक्रमा नेपाल राष्ट्र बैंंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले हाल नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा समावेशीकरण, भुक्तानी प्रणालीको सुदृढीकरण, बैंक तथा वित्तीय संस्थाको एक आपसमा एकीकरण गर्ने र यस महामारीको परिस्थितिमा प्रविधिको प्रयोगबाट बैंक सञ्चालन गराउने विषयमा तालिम कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोे बताए ।
नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवनकुमार दाहालले नेपालको बैंकिङ्ग क्षेत्र सबल रहेको, तरलताको समस्या नरहेको, विप्रेषणको प्रभाव सन्तोषजनक अवस्थामा रहेको र नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले बैंकिङ्ग क्षेत्र तथा निजी क्षेत्रलाई राहत दिन सकेको धारणा राखे ।
सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले धितोपत्र बजारका लागि वित्तीय साक्षरता अत्यन्तै आवश्यक भएकाले बिफिनले समन्वयात्मक रुपमा धितोपत्र बजारको सुदृढीकरण गर्नमा अहम भूमिका निर्वाह गर्ने धारणा राखे ।
बिमा समितिका अध्यक्ष चिरन्जिवी चापाँगाईले बिफिनले छोटो अवधिमा गरेको प्रगतिको प्रशंसा गर्दै बिमा क्षेत्रमा आवश्यक देखिएको वित्तीय साक्षरता कार्यक्रम बिमा क्षेत्रको जनशक्ति विकासमा सक्रिय हुन आग्रह गरे ।
सो अवसरमा बंगलादेश बैंकका पूर्वगर्भनर डा. अतिउर रहमानले बिफिनले छोटो अवधिमा उत्कृष्ट कार्य गरेको भन्दै अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले विश्वको अर्थतन्त्र नै अस्तव्यस्त अवस्थामा रहेकाले नयाँ अवसर खोज्न सकिने धारणा राखे । “कोभिडले विश्व अर्थतन्त्र नै थला परेको छ” उनले भने, “यसले नयाँ अवसरहरु समेत सृजना हुने हुँदा ती अवसरहरु पत्ता लगाई काम गर्न सकेमा मात्र अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ ।”
बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेडलगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पुँजी बजारसँग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रर्वद्धित संस्था हो ।